यात्रा – कविता “शोभा न्यौपाने”

धेरै थाकीसकें म,मैले विश्राम लिनैं पर्छ
धेरै हिडिसकें म, अव यात्रा टुंग्याउनु पर्छ
मैले निश्चय गरिसकेको थिएँ
त्यसबेलाको मेरो सोचाइ, दृष्टिकोण
बिलकुल फरक थियो ।
स्वयं म पनि फरक थिएं
मेरो यात्रा पनि बेग्लै थियो
हो,म भ्रमैभ्रमको घेराभित्र थिएं
सायद सोचेको थिएँ
आमाको गर्भबाट भूइंमा उत्रेपछि
जीवनको दैलोबाट जिन्दगीमा पसिसकेपछि
मेरो यात्राको समापन हुनेछ
सारा अड्चनहरु तोडिनेछन्
कल्पना को सुन्दर संसारमा रमाएर
म आंफैंभित्र मख्ख थिएं
किनकी म बास्तविकता बाट टाढै थिएं ।
मैले सम्झेको यात्रा
यात्राको गोरेटो सम्म पुगेकै थिएन
हिंडाइको त कुरै छोडौं
ताते-तातेमा डोरिएको पनि थिएन
नढाँटी भनौं भने
मैले भ्रमका धेरै पर्खालहरू तोडेर
यथार्थको धरातलमा टेक्न बांकी नैं थियो
मानव मुक्ति र कल्याणका खातिर
सामाजिक विकृतिलाई हमेसा को लागि हटाउनु थियो
सोचाइको फांटलाइ फराकिलो पारेर
मनका द्वेष-क्लेसहरू मेटाउनु थियो
‘उज्यालो’- मेरो गन्तव्य
मैले त्यसलाई भेट्टाउनु थियो ।