अन्जना पौडेल अनुश्रुति
कक्षा आठमा पढाई रहेको थिएं । त्यो दिन हाम्रा प्रिन्सिपल राजन सर धेरै पटक मेरो क्लास अगाडिबाट ओहोर- दोहोर गर्नु भयो। ती दिनहरुमा मलाई धेरै गार्हो भएको थियो। बिद्यार्थीलाइ कक्षा कार्य गर्न दिएर ठ्याक्क बिधार्थीको बेन्चमा बसेर बिधार्थीलाई हेर्दै थिएँ । प्रिन्सिपल सर मेरो क्लास भित्र छिर्नु भयो । आर यू ओके अन्जना म्याम ? आर यू फलोइङ् दि रूल्स अफ स्कूल ? सरले केके भनेर थर्काउनु भो । म एक्कासी कांप्दै उभिएर निहुरिइ रहें । सर निस्कनु भयो। आफ्नै आंखा छामेको आंशु वरर खसी रहेका थिए । कस्तो नसोचेको घटना भयो। बिधार्थीहरूलाई मेरो बारेमा थाहा रहेछ । उनीहरू म्याम प्लीज डन्ट क्राइ भन्दै मैंसंग रुन पो थाले ।
जापानको सहयोगमा बनेको नेपाल जापान स्कूल २०६३ सालमा निकै नाम चलेको ,राम्रो बिधालय मानिन्थ्यो, बसुन्धरा, गोंगबुँ एरियामा । जापानिज शिक्षकले पनि पढाउँथे । बसमा टाढाटाढाबाट पनि बिधार्थीहरु पढ्न आउंथे अनि नियम पनि कडा थियो । दिनभरी उभिएर पढाउनु पर्ने नियम थियो। सबै क्लासबाट कुर्सी हटाइएको थियो । लिजर पिरियडमा पनि फूर्सद थिएन नि ! स्टाफ रुममा बसेर कापी चेक गरिन्थ्यो । खाजा खांदा धरी कहिले ग्राउण्ड डिउटी त कहिले क्लास डिउटीमा खटिनु पर्दथ्यो ।
त्यो दिन धना म्याम, कबिता म्यामहरूले त्यो कुरा थाहा पाउनु भएछ ।घर फर्कंदा मलाई भन्नु भयो – “सरले हजुरको यस्तो अवस्थामा पनि कस्तो अमानविय व्यवहार गर्नु भो ,सार्है दु:ख लाग्यो म्याम । “
ठूलो छोरा एन्थस त्यही बिधालयमा यूकेजीमा पढ्थ्यो ।
चार बजे बिधालय छुट्टी भएपछि छोराको हात समातेर हिड्दै घर फर्कें , घरबाट पांच मिनेटको दुरीमा स्कूल थियो । संधै भरी घरमा गए पछि झोला राख्ने ,ड्रेस फेरेर भान्सामा आफैं नछिरी सुख थिएन ।
खाजा बनाएर सबैलाई दिएर खाना बनाउनु, सबैले खाएपछि खानु ,धन्दा सकेर कहिले सुत्नु ,कहिले बिधार्थीको होमवर्क कापी घरमैं ल्याएर चेक गर्नु । परिक्षाको बेलामा त झन् कापी चेक गरेपछि पनि रिपोर्ट कार्ड ,मार्कसिट तयार गर्नु ,क्लास टिचरको अति महत्वपूर्ण र जिम्मेवारी पूर्ण काम हुन्थ्यो । श्रीमानले धरी सघाउनु हुन्थ्यो कम्प्युटरमा मार्कसिट बनाउन । एन्थस छोरा आफ्नो होमबर्क सकेपछि मसंग नुनु गर्न आंखा मिच्दै पर्खिरहन्थ्यो । उ कापीमा भएका नम्बर जोड्न अति रुचाउथ्यो । उसले नम्वर जोडेपछि मैले पून: चेक गरेर नम्वर राख्थें । त्यो बेलामा एक शिक्षकको परिवार यस्तो थियो ,सायद धेरैको मिल्छ होला आज पनि। बिहानै उठेर घर धन्दा गरेर,खाना बनाएर , खाएर ,दिएर, आंफू तयार भएर, छोरालाई तयार गराए पछि एक स्वासमा पाइला लम्काउंदै बिधालयको एसेम्वलीमा समयमा पुग्नु मेरो दैनिकी नैं थियो । बानी नैं भएको थियो भनम ।
अघिल्लो दिन प्रिन्सिपल सरले गाली गर्नु भएको सम्झेर भोली पल्ट त सरलाई देख्दैमा डर लाग्यो । के भएको होला मलाई ? डराइ डराइ गुड मर्निङ सर भनें ।
एसेम्ली लगत्तै क्लासमा छिरेर बिधार्थीको हाजिर लिंदै थिएं ।
पियन बोलाउन आए -“अन्जना म्याम प्रिन्सिपल सरको रुममा जानु रे ।” हाजिर लिएर संगैको क्लासमा हुनु भएको रिजु मिसलाई एकछिन मेरो क्लासमा विचार गरी दिनु है भनेर प्रिन्सिपल सरको अफिस रुममा गएं । ढोकामा पुगेर मैले ‘एस्क्यूज मी सर, मे आइ कम इन ‘भन्न नपाउदै सरले आफैं उठेर हातले सोफामा बस्न इसारा गर्दै भन्नु भो – “प्लीज म्याम,कम इन ।आइ याम सो सरी फर यस्टर डे । प्लिज एस्क्यूज मी म्याम । म्याम मलाई माफ गरिदिनु होस ,म बाट ठूलो गल्ती भयो । आइ एम हो सरी म्याम ।” मलाई यो कुरा थाहा थिएन म्याम, हिजो मात्र थाहा पाएं । केही दिन अघि देखि हजुरलाइ हेरिरहेको थिएँ ,किन होला म्यामले यस्तो गर्नु भएको ? पहिले त्यस्तो फूर्तिलो मान्छे , अहिले किन फूर्तिलो देखिनुहुन्न भन्ने सोचेको थिएँ ।
म्याम भोलीबाट तपाईं लाइब्रेरी क्लासमा हेर्नुहोस् र अरू केही क्लास लिइदिनुहोला है। हिजो नैं बोर्डमा कुरा राखेको छु मैले । प्रिन्सिपल सर र बिधालय परिवारको यो निर्णयले मलाइ धेरै राहत महसुस भयो । बिधालय परिवारलाई अझै संझिरहन्छु र धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
म्यामहरूले मलाई खान मन लागेका कुराहरु पकाएर ल्याएर खुवाउनु हुन्थ्यो । रिजु म्यामले त झन् आमा जस्तै मानेर केके-केके किनेर ल्याउनु हुन्थ्यो । विशालनगरको टिपटपबाट समोसा ,जेरी , लखामरी, योमरी, लैनचौरको दुध डेरीबाट बोटल मिल्क धरी ल्याएर खुवाउनु हुन्थ्यो। पियनले दु:ध तताएर दिन्थे । जापानिज म्यामले फलफूल ल्याएर दिनु हुन्थ्यो ,काट्ने फल भए आफैं चक्कुले काटेर खुवाउनु हुन्थ्यो । स्टीकी राइस ल्याएर दिनुहुन्थ्यो,पोसिलो हुन्छ भनेर।
मलाई कालो चिया अति मन पर्ने ,त्यो बेलामा ।
सानु छोरा आर्जन अझै पनि मलाई जिस्क्याउछ, ‘म त हजुरको सानोघर (पाठेघर)भित्र हुंदा नैं टिचर भएको थिएं है मामु।’ कहिले गाली गर्दै रिसाउछ- हजुरले कालो चिया किन खाको ? मलाई कालो बनाउन ?
हिन्दी फिल्म “चक एण्ड डस्टर ” हेरें र आज आफैं चक एण्ड डस्टरमा रमाउंदाका विशेष दिन सम्झनामा ताजा भएर आए ।
आज घरभित्रै बन्द भएर बसेको ५०औं दिन । कसैले फेसबुकमा लेखेको देखें -“पचास दिन कोरलीयो ,कोरोनाका चल्ला झन् बढेर फैलिए त।”
अहो ! आज यो महामारीले संसारलाइ महाशून्य बनाइदियो नि ! औलो, स्वाइनफ्लु
भुकम्प,अनेक लडाइ त लडेर बांचियो ,कोरोनासंगको लडाइ पनि अवश्य जित्ने छौं । सुरक्षित रहनुहोला है । बस्, धैर्य गरेर हामी घरभित्रै बसौं है ।भौतिक दुरी भए पनि ,सामाजिक दुरी भएपनि मनको दुरी , मानवताको नबढाउनु होला है। सम्झना मनैमा ।